सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतको आदेश
- February 03, 2023
- 3 years ago
काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश हरि फुयाँलको इजलासले जिल्ला र धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशका कागजात अर्थाता कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।
सन्दीप लामिछानेलाई के कुन आधार र कारणबाट छाड्न आदेश दिएको हो त्यसको विवरण सहितको प्रतिवेदन मगाउन आदेश दिइएको हो ।जबरजस्ती करणीको मुद्दामा लामिछानलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यस विरुद्ध उच्च अदालत पाटनमा गएका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
लामिछानेलाई थुनामा राख्नुको साटो धरौटीमा छाड्ने उच्च अदालतको आदेश प्रचलित कानुन र न्यायिक सिद्धान्त विपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दायर गरेको थियो । उक्त निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ । यही विचमा लामिछानेलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरेको छ ।