माओवादीले टुंग्यायो २१ पदाधिकारी, महासचिवमा देव गुरुङ
- August 20, 2022
- 4 years ago
पार्टी महाधिवेशन भएको ८ महिनापछि नेकपा माओवादी केन्द्रले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको जिम्मेवारी टुग्याएको छ । महासचिवको आकाक्षी वर्षमान पुन र जनार्दन शर्मालाई पछि पार्दै देव गुरुङ महासचिव बन्न सफल भएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले महासचिवमा देव गुरुङसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव सर्वसहमतीले अनुमोदन भएपछि लामो समयदेखिको माओवादीको पदाधिकारी चयनको अन्यौल सकिएको छ । अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन भएपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् । उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेतले जिम्मेवारी पाएका छन् ।
सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई जिम्मेवारी दिइएको छ । ८ महिना पहिला भएको महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल र केन्द्रीय समिति चयन गरिएको थियो ।