बन तस्करीमा सम्लग्न वन अधिकृत सहित २४ जना विरुद्ध भ्रष्टाचार मुद्धा
- March 17, 2024
- 2 years ago
काठमाडौ । महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आइतवार सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २४ जना विरूद्ध मुद्धा दायर गरेको हो । उनीहरु विरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैंयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाइएको छ ।
अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेबी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिब धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ्ग, महोत्तरी, बर्दिबास नगरपालिका १ बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्ण प्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपाली, यसैगरी सव डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलिप महतो विरूद्ध मुद्धा दायर गरेको हो ।
नापी कार्यालय, बर्दिवास महोत्तरीका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं.१ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउतलाई समेत विपक्षी बनाइएको छ ।