त्रि.वि.का चार प्राध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा
- November 28, 2025
- 6 months ago
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगर सह परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंसहित सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक जयालक्ष्मी प्रधान र सदस्य मोतिलाल शर्मा र मेघराज पोखरेल विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आफूसँग नभएको योग्यता पीएचडी (विद्यावारिधि) पाएको भनी विवरण पेस गरी लाभ लिएको आरोपमा प्रसाइविरुद्ध अनुसन्धान हुँदा उनीसहित अरु दुई जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, कीर्तिपुर काठमाडौंले सहपरीक्षा नियन्त्रक छनोट समितिको परीक्षामा प्रसाईंले हुँदै नभएको योग्यताका विवरण पेस गरेका थिए । गत वर्ष भदौमा त्रिविले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि एकजना सहपरीक्षा नियन्त्रकको आवेदन खुलाएको थियो । त्यसमध्ये ६ जना आवेदकले दरखास्त पेस गरेकामा पद्मकन्या कयाम्पसका प्रधान, त्रिवि रसायनशास्त्र विभागका शर्मा र पोख्रेल रहने गरी तीन सदस्यीय छनोट समिति गठन भएको थियो ।
जसमा समितिले पोखरेललाई छनोट गरी नियुक्ति गरेपछि गैरकानुनी सिफारिस भन्दै अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अनुसन्धान हुँदा प्रसाईंले पेस गरेको विद्यावारिधि फर्जी भेटिएपछि सिफारिस समितिका तीन र प्रसाईंविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।