जिल्ला अदालत कास्कीको दुई इजलासमा तोडफोड
- March 23, 2022
- 4 years ago
पोखरा – जिल्ला अदालत कास्कीमा तोडफोड भएको छ । मंगलबार राति अदालतको दुई वटा इजलास कक्षमा तोडफोड भएको हो। अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको छ ।
एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको प्रहरीले जानकारी दिएको छ । दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ ।
बुधबार बिहान सफाई कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि अन्य कर्मचारीलाई खबर गरेकी थिइन् । चौबीसै घण्टा अदालतको मुख्य प्रवेशद्वारमा प्रहरी सुरक्षा हुन्छ तर अदालत भित्र इजलाशको ढोका तोडफोड हुनुलाई रहस्यमय मानियको छ ।
अदालतको अगाडि नै वडा प्रहरी कार्यालय समेत रहेको छ । सुरक्षा घेराका बीच अदालतमा पसेर दराज फुटाइनुलाई शंकास्पद घटनाका रूपमा लिइएको छ । फलामको रड प्रयोग गरेर ढोका फुटाइएकोप्रहरीले जनाएको छ । एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए ।