शौचालयको सेफ्टीट्यांकीमा भेटियो बालकको शवः सातजना पक्राउ
- April 07, 2022
- 4 years ago
सर्लाही । शौचालयको सेफ्टीट्यांकीमा एक बालकको शव भेटिएको छ । बिहीबार बिहान सर्लाही मलंगवा नगरपालिका–१२, गम्हरियास्थित जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाश ठाकुरको शव सेफ्टीट्यांकीमा भेटिएको हो । चार दिन देखि हराएका बालकको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टीट्यांकीमा भेटिएको हो ।
आइतबार गाउँमा न्वारनको भोज खान गएका आकाश घर नफर्किएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी जगदीश ठाकुरलाई पक्राउ गरेको छ । बालक हत्याको आरोप स्वीकार गरेका जगदीश ठाकुरको वयानको आधारमा अन्य ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोपी मध्य एक जना फरार रहेका छन् । हत्या गरिएका बालकको शव पोष्टमाटमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाको थप अनुसन्धान गरी कर्तब्य ज्यान मुद्धा चलाउने तयारी गरिएको सर्लाही प्रहरीले जानकारी दिएको छ । ।