राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन
- February 07, 2023
- 3 years ago
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट नियन्त्रण गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन । अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन । राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ, प्रधानमन्त्री दाहालले भने । उनले नीतिगत सुधार गर्दै राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्ने बताएका थिए ।
चुहावट भन्सारमा मात्र नभएर राजस्व संकलनका अन्य क्षेत्रमा पनि भएकाले यसको दायराबढाएर प्रभावकारी बनाउनु पर्नेमा उनको जोड थियो ।
उनले राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले प्रविधिमैत्री अनुसन्धान र नियन्त्रणको काम गर्नु जरूरी रहेको औंल्याए । राजस्व छली गर्ने ठूला शक्तिलाई नियन्त्रण गर्न विशेष रुपमा काम गर्नुपर्ने पनि उनले निर्देशन दिए ।
अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड लगाउँदै ठूला बदमासीहरू नियन्त्रण गरेपछि साना बदमासीहरू क्रमशः न्यूनिकरण हुने उनको विश्वसा थियो । राज्य निरीह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने प्रष्ट पार्न समेत प्रधानमन्त्री दाहालले कर्मचारीलाई निर्देशन दिए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व संकलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई चेन ब्रेक गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको बताएका थिए ।