मिर्गौलो बेच्न सडक बालबालिकालाई भारत लैजाने ५ जना पक्राउ
- July 17, 2022
- 4 years ago
काठमाडौँ — सडक बालबालिकाको मिगौला विक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी सर्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् । नेपाल प्रहरीको मानव वेचविखन ब्यरोले पक्राउ गरेका उनीहरुलाई आइताबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हो ।
उनीहरुले काठमाडौंको सडकपेटीमा बस्ने बालबालिकालाई फकाएर भारतको कोलकता पुर्याई मिर्गौला विक्री गरेका थिए । सडक बालबालिकालाई असार १५ गते भारतको कोलकता लैजान लगेको अवस्थामा ब्यूरोले सुरुमा धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाहीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा विधान र हिमाल श्रेष्ठ भनेर चिनिने धनबहादुर रोका र आशिष तामाङ पनि मिर्गौला वेच्न सकृय रहेका पाइएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै मिगौला वेचेका विमल र धनबहादुरले प्रलोभनमा पारेर सडक बालबालिकाको मिर्गौला बेच्ने योजना बनाएर उनीहरुलाई भारत लैजाने तयारी गरेका थिए । उनीहरुले दुई बालकलाई असार १५ गते कोलकता लैजानका मेडिकल जाँच गरेर तयारी अवस्थामा राखेका थिए । पक्राउ परेका ५ जना मध्ये धनबहादुर रोका मुख्य योजनाकार भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । धनबहादुरले नै पीडितलाई भारतमा लगेर मिर्गौला भिक्ने र मिर्गौला प्रत्यारोपणको काम सकिएपछि नेपाल ल्याइदिने गरेको थिए । पक्राउ परेको पाँचै जनालाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।