नागरिकता र राहदानीमा किर्ते गरेको दाबी सहित रवी लामिछाने विरुद्ध सर्वोच्चमा रिट
- December 15, 2022
- 4 years ago
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने र सभापति पदसमेत खारेज गर्न रिटमा माग गरिएको छ ।
चितवन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछाने विरुद्ध युवराज पौडेलले एकल तथा अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले संयुक्त रिट दर्ता गराएका हुन् । रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी, लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृह मन्त्रालय र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । बुधबार रिट दायर भएको रिटाको पुस ६ मा सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकेको छ ।
लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपालको नागरिकता प्रयोग गरी राजनीतिक दल गठन गरेको र नेपाली राहदानी लिएको दाबी गरिएको छ । लामिछानेले सन् २०१४ मार्च ५ आर्थात २०७० फागुन २१ मा ५१२९६६९८१ नम्बरको अमेरिकी राहदानी लिएका थिए । त्यसैमा नेपालको भिसा लगाएर नेपाल आएका उनले पुरानो नागरिकता प्रयोग गरेर २०१५ मे २७ अर्थात २०७२ जेठ १३ मा नेपालको राहदानी लिएको रिट निवेदकहरूको भनाइ छ । नेपालको राहदानी लिने बेलामा समेत लामिछाने अमेरिकी नागरिकका हैसियतमा नेपालमा बसिरहेको र सन् २०१८ अर्थात २०७५ असारमा मात्रै अमेरिकी राहदानी र नागरिकता परित्याग गरेको निवेदकहरुको भनाई छ ।
लामिछानेले नागरिकता ऐन, २०६३ को दफा ११ बमोजिम पुनः नेपाली नागरिकता नलिएको हुँदा निज अमेरिकी नागरिक हुनुपूर्वको अर्थात् २०५० सालको नागरिकता नम्बर १८२२२ को नागरिकता प्रयोग गरी दल दर्ता गराउने कार्य आयोगको त्रुटिले भएको हो भने सो त्रुटि तत्कालै सच्याई लामिछानेको उक्त दलको सदस्यता तत्कालै खारेज गर्नु पर्ने निवेदकहरुको मुख्य माग रहेको छ ।