नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चको आदेश : ९ जनालाई थुनामा खाख्नु, ४ जनालाई धरौटी ६ जनालाई साधारण तारेख, खाँणको राय बाझियो
- December 01, 2023
- 3 years ago
काठमाडौँ — उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्धामा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको छ भने ४ जनालाई धरौटीमा र ६ जनालाई साधारण तारेखमा छोड्न आदेश गरेको छ । तर पूर्व गृहन्त्री बालकृष्ण खाँडको हकमा भने न्यायबाजिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले टोपबहादुर रायमाझी तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, पूर्वगृह सचिव टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राईलाई पूर्पक्षका लागि थुनामा राख्ने गरी भएको जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो । नरेन्द्र केसी, हरिभक्त महर्जन, शम्शेर मियाँ, सन्दीप रायमाझी, टेकनाथ रिजाल, रामशरण केसीको हकमा भने जिल्ला अदालतको आदेशलाई उलट्याउँदै धरौटीमा छोड्न आदेश गरेको छ ।
उनीहरुलाई क्रमशः नरेन्द्र केसीलाई १० लाख, हरिभक्त महर्जनलाई १५ लाख, शम्शेर मियालाई १० लाख, सन्दिप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाललाई १५ लाख र रामशरण केसीलाई १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । त्यस्तै लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ ।
पूर्वगृहमन्त्री बाकृष्ण खाणको सन्दर्भमा भने दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्न पर्ने राय दिएका छन् भने न्यायाधीश प्रकाश खरेलको थुनामै राख्नु पर्ने आदेश दिएका छन् । न्यायाधीश जनक पाण्डेले खाँण विरुद्ध किटानी जाहेरी नपरेको, अनुसन्धान अधिकारी र अदालतमा खाँणले इन्कारी बयान दिएको अनि अरू प्रतिवादीहरूले खाँणको नाम नपोलेको चार वटा अधार देखाउँदै थुनामा राख्नुपर्ने अवस्था नभएको भनी राय लेखेका हुन् । उनको यही रायमा फरक मत राख्दै न्यायाधीश प्रकाश खरेलको अहिलेकै अवस्थामा खाँणलाई निर्दोष भन्न नमिल्ने निष्कर्ष निकालेका छन् । फरक रायमा तत्काल प्राप्त प्रमाणबाट बालकृष्ण खाँण अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिव आधार नदेखिएको हुँदा न्यायाधीश जनक पाण्डेबाट भएको आदेशसँग सहमत हुन सकिएन भन्ने उल्लेख छ ।
दुई न्यायाधीशको राय बाझिए के हुन्छ ?
दुई न्यायाधीशको राय बाझिएमा तेस्रो न्यायाधीशसमक्ष निवेदन पेश गर्नुपर्छ । दुई न्यायाधीशबीच राय बाझिएको यो निवेदन अब तेस्रो न्यायाधीशसमक्ष पेश हुन्छ । गोला प्रणलीबाट तेस्रो न्यायाधीशको इजलाशमा पेश हुँन गएको उक्त निवेदनमा तेस्रो न्यायाधीशले दुईमध्ये जुन न्यायाधीशको रायसँग सहमत हुने गरी आफ्नो आदेश लेख्छन्, त्यही राय मान्य हुन्छ । यदी तेस्रो न्यायाधीशले पनि दुई न्यायाधीशको रायभन्दा फरक राय लेखेमा भने निवेदन सर्वोच्च अदालत पुगेर एकल इजलासमा पेश भई उनको निवेदनमाथि आदेश हुन्छ ।