नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण, रायमाझी र पाण्डेसहित १६ जना पूर्पक्षका लागि थुनामा
- June 16, 2023
- 3 years ago
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले १८ जना अभियुक्त मध्य टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुईबाहेक अन्य अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको हो।
सरकारी वकिलहरूले अभियुक्तहरू राज्य विरूद्धको कसूरमा दोषी रहेकाले उनीहरूले बाहिर बसेर प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गरेका थिए।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको भन्दै ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जना विरुद्ध मुद्दा दायर गरेको थियो।
भुटानी शरनार्थी बनाएर अमेरिका लगिदिने भन्दै अभियुक्तहरुले एक सय १३ जनाबाट साढे २७ करोड ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थिए।