कुख्यात अपराधी चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश
- December 21, 2022
- 4 years ago
सिरियल किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदमुक्त गर्न आदेश दिएको हो। १९ वर्षदेखि केन्द्रीय कारागार जगन्नाथ देवलमा कैद सजाय भुक्तान गरिरहेका उनलाई अन्य मुद्दामा थुनामा बस्न नपर्ने भएमा आजैदेखि कैदमुक्त गर्न आदेशमा भनिएको छ । साथै १५ दिनभित्र आफ्नै देशमा फर्काउने व्यवस्था मिलाउन समेत सर्वोच्चले आदेश छ ।
शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले कानुन अनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। ‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ भन्ने सर्वोच्चको आदेशमा उल्लेख छ, । जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने भन्दै शोभराजले बन्दी प्रत्यक्षीकरणको मुद्धा दायर गरेका थिए ।
अब कसरी छुट्छन् शोभराज ?
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले यो आदेशको जानकारी जिल्ला अदालत काठमाडौं, भक्तपुर र केन्द्रीय कार्यालयलाई पठाइसकिएको बताए । आदेश पाएपछि जिल्ला अदालतले अन्य मुद्दामा कैद भोग्नुपर्ने छ कि छैन भनेर हेरेर जिल्ला अदालतले छोड्नका लागि कारागारलाई पत्राचार गरेपछि मात्र उनी छुट्ने प्रवक्ता पौडेलले जानकारी दिए ।
शोभराजले के अपराध गरेका थिए ?
सन् १९७५ अर्थात विक्रम संवत २०३२ मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा हत्या गरेको दुई दिन पछि उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए। हत्यापछि फरार भएका शोभराज २०६१ सालमा नेपाल आएका थिए। त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या अभियोगमा मुद्दा चलेको थियो।
त्यसपछि काठमाडौं र भक्तपुर दुवै अदालतले उनलाई फरकफरक समयमा जन्मकैद हुने फैसला सुनाएको थियो । काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। उनी पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका थिए। उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने पूर्जी अदालतले जारी गरेको थियो। तर सर्वोच्चले वृद्ध, मुटु रोगी भएको र मानवअधिकार मापदण्डविपरीत गोलघरमा राखिएको भन्दै सर्वोच्चले कैदमुक्त गर्ने आदेश दिएको हो।