एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित
- January 19, 2023
- 3 years ago
काठमाडौं । घिमिरे झापा–२ बाट निर्वाचित नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा सत्ता गठबन्धनमा समेत पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।
सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले दिएको उम्मेदवारीमा पहिले घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल भएन । न्यौपानेलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।