उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस
- July 08, 2022
- 4 years ago
काठमाडौं । न्यायपरिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारीस गरेको छ । उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश साहलाई योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै बर्खास्त गर्न सिफारीस गरिएको हो ।
न्यायपरिषदले छानविन गर्दा न्यायाधीश साहको योग्यता नपुगेको देखिएकाले बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरिएको न्यायपरिषदका प्रबक्ता मनबहादुर कार्कीले कानून घरलाई बताए ।
उनले निरन्तर १० वर्ष वकालत गरेको तथा न्याय क्षेत्रमा काम गरेको प्रमाण पेश गर्न नसकेपछि परिषद्ले अयोग्यता लुकाएर नियुक्ती लिएको ठहर गरेको हो। लामो समय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा कार्यरत साहलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पहलमा न्यायाधीश नियुक्त गरिएको थियो ।
उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । तत्कालिन प्रधान न्यायाधीश साहले हाल निलम्वित प्रधानन्यायाधीश जबरालाई प्रधानन्यायधीश बनाउने गरी सर्वोच्चमा ल्याउन सहयोग गरेको न्यायक्षेत्रका जानकारहरुको भनाई ।
संविधानको धारा ४० मा उच्च अदालतको न्यायाधीश हुनका लागि कानूनमा स्नातक उपाधि प्राप्त गरी जिल्ला न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा कम्तीमा दश वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा दश वर्ष कानूनको अध्यापन, अन्वेषण वा कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको वा न्याय सेवाको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको पदमा कम्तीमा पाँच वर्ष काम गरेको नेपाली नागरिक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ उल्लेख छ । तर न्यायाधीश साहले उक्त योग्याता नै नपुगी योग्याता ढाटेर नियुक्ति लिएको भन्दै उनलाई बर्खास्त गर्न न्यायपरिषदले सिफारिस गरेको हो ।