असई थमन विक हत्या अभियोगमा ७ जनालाई जन्मकैद, माननीय कोइरीले पाए सफाई
- December 14, 2023
- 3 years ago
जिल्ला अदालत महोत्तरीले ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएका हुन् ।
प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ दिएको छ । जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् । त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।
यो घटनामा महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त हत्या आरोपमा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरिएको थियो ।
उक्त हत्या आरोपमा १९ जना फरार छन् । फरार हुनेहरुमा रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।फरार रहेकाहरुको हकमा भने फैसला मुल्तवीमा राखिएको छ । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन ठाकुर तारिख गुजारेर फरार भएका थिए ।
त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका थिए ।
मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते असई थमन बिकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए । घाइते बिकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।