टीकापुर घटनामा दोषिलाई कैद छुट गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
- November 23, 2023
- 3 years ago
काठमाडौं । टीकापुर घटनामा संलग्न तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । विहीबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कैलालीको टीकापुर घटनामा एक बालक सहित ८ सुरक्षाकर्मी ज्यान जानेगरी भएको घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट गर्नुको कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेका हो ।
२०७२ भदौ ७ मा उक्त घटनामा जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा रेशम चौधरी सहित १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यस विरुद्ध परेको पुनरावेदनमा उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको सजाय गरेको थियो भने जिल्ला अदालतबाट ३ वर्षमात्रै कैद सजाय पाएका लक्ष्मण थारु समेत जन्मकैदको सजायमा भएको थियो ।
उक्त मुद्धामा सर्वोच्च अदालतले सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपबाट सफाइ दिएको थियो । लक्ष्मण चौधरीमाथि ३ वर्ष कैद फैसला भएको थियो भने रेशम चौधरीसहित अन्यको हकमा भने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो । तर गणतन्त्र दिवसका अवसरमा १५ जेठमा गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको कैद मिनाहा गरेको थियो ।
त्यस पछि संविधान दिवसको अवसरमा हरिनारायण चौधरी, वीरबहादुर चौघरी र प्रदीप चौघरीलाई कैद छुट दिइएको थियो । उक्त निर्णयको विरुद्ध टीकापुर घटनामा हत्या गरिएका प्रहरीका परिवार शारदा कठायत र मन्धरादेवी विष्टले २१ कात्तिकमा सर्वोच्च अदालतमा रिट दिएका थिए ।