प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
- April 17, 2023
- 3 years ago
प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । दाहालले शुक्रबारका लागि बैठक आह्वान गरेका हुन् । प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । शुक्रबारको उक्त बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
बैठक आह्वानका लागि सोमबार बिहान प्रधानमन्त्रीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।
सोमबार बिहानको बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गरेका थिए । सोही बैठकमा संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो ।
सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच सोमबार बिहान छलफल भएको थियो । चोलेन्द्र शमशेर जबराले भने महाभियोगपछि गत मंसिरमा प्रधानन्यायाधीशबाट अवकास पाएका थिए ।