सडक निमार्ण गर्ने क्रममा झडप हुँदा ७ जना घाइते
- April 10, 2023
- 3 years ago
सिन्धुपाल्चोकको बलेफीमा सडक निमार्ण गर्ने क्रममा झडप हँुदा ७ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको वलेफी जलवीरे तेम्बाथाङ सडक खण्ड निमार्णको क्रममा ठेकेदार कम्पनीका कामदार र स्थानीय युवावीच झडम भएको हो । सडक विस्तारको जिम्मा लिएको अनक कवीर जेभी निमार्ण कम्पनीको डोजर अपरेटर र टिप्पर चालकलाई स्थानीय युवाहरुले मादक पदार्थ सेवान गरी कुटपिट गरेपछि झडप भएको बताएको छ ।
आइतवार राती सडक विस्तारको काम भइरहेको स्थानमा केही स्थानीय युवाहरुले मादक पदार्थ सेवन गरी निर्माण कम्पनीका मजदुरमाथि आक्रमण गरेपछि कामदारहरुले प्रतिकार गर्दा ५ जना स्थानीय र २ जना निर्माण कम्पनीका मजदुर घाइते भएका हुन् । अन्य घाइतेहरु सामान्य उपचार पछि घर फर्किए पनि स्थानीय रमेश श्रेष्ठको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।
दिउसो सवारी आवागमनमा समस्या हुने भएकाले रातको समयमा मात्र सडक विस्तारको काम गर्ने गरिएकोमा स्थानीय युवाहरुले काम गरिरहेको समयमा मजदुर माथि हातपात गर्न थालेपछि दुई पक्षवीच झडप भएको निर्माण कम्पनीका ठेकेदार गोरे तामाङले जानकारी दिए । कामदार माथि आक्रमण गर्ने युवाहरुले माफी मागेपछि प्रहरीको रोहवरमा मिलापत्र गरी दुवै पक्षलाई छाडिएको ठेकेदार तामाङले बताए ।