प्रचण्ड विरुद्ध सर्वोच्चमा रिट दर्ता, शान्ति संझौता विपरितको गतिविधिको प्रतिवाद गर्ने ८ पार्टीको निर्णय
- March 07, 2023
- 3 years ago
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले रिट दायर गरेका हुन् ।
रिट निवेदकमध्येका रामेछाप स्थायी घर भएका अधिवक्ता ज्ञानेन्द्रराज आरणले आफूहरुलाई परेको व्यक्तिगत चोटका आधारमा मुद्दा दायर गरेको बताए ।
सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठको आदेश गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएका थिए । त्यसपछि कानुन व्यवसायीहरु पुनः रिट दायर गरेका थिए ।
रिटमा यसअघि नेपाल सरकार, सत्य निरुपण तथा मेलमिलाप आयोग, प्रहरी प्रधान कार्यालयलगायतका निकायबाट प्रचण्डलाई कारबाही नहुने भनी कुनै आदेश भएको भए बदर गर्न समेत माग गरिएको छ । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।
रिटप्रति माओवादी केन्द्रले आपत्ति जनाउँदै माओवादी महासचिव देव गुरुङले आइतबार विज्ञप्ति जारी गरेका छन् । त्यस लगतै मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका ८ पार्टीको बैठकले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।