सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, सर्वोच्चले दियो विदेश क्रिकेट खेल्न जाने अनुमति
- February 27, 2023
- 3 years ago
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । सर्वोच्चको आदेशले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । नाबालिग बलात्कारको मुद्दाको थुनछेकमा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
उक्त आदेश विरुद्ध उच्च गएका लामिछानेलाई उच्च अदालत पाटनले सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालतमा निवेदन दिएको थियो भने भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै निवेदन दिएका थिए । उक्त दुवै निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले धरोटीमा छाड्ने उच्चको फैसला सदर गर्दै विदेशमा क्रिकेट खेल्न जाने अनुमति पनि दिएको हो । तर उनले खेल सकिएको १५ दिन भित्र नेपाल फर्केर अदालतमा हाजिर हुन पर्ने आदेशमा भनिएको छ ।
५ भदौमा सन्दीपले आफूलाई बलात्कार गरेको १७ वर्षीया किशोरीले २१ भदौमा गौशालास्थित प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन। जाहेरी दिँदा विदेशमा रहेका उनी २० कात्तिकमा नेपाल फर्के पछि विमान स्थलबाटै पक्राउ परेका थिए ।