महानिरीक्षकको दौड रोक्न डीआईजी अशोक सिंहविरुद्ध उजुरी, अख्तियारले विस्तृत छानबिन गर्ने
- February 19, 2023
- 3 years ago
प्रहरी नायब महानिरीक्षक (डीआईजी ) अशोक सिंहविरुद्ध परेको उजुरीबारे अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विस्तृत छानबिन गर्ने भएको छ। डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको उजुरी परेको छ । भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहेका उनी माथि अख्तियारको उजुरीको हो । यस विषयमा प्रहरी प्रधान कार्यालयले समेत छानबिन अघि बढाएको छ।
अख्तियारले शैक्षिक प्रमाणपत्रबारे आफैले विस्तृत छानबिन गर्ने तयारी थालेको छ भने नागरिकताका सम्बन्धमा गृह मन्त्रालयलाई छानविनको लागि पत्र लेखेको छ ।
सिंह विरुद्ध भावि प्रहरी महानिरीक्षकको दोडमा रहेकोहरुबाट उजुरी परेको स्रोतको दावी छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी सिंहले १८ वर्ष पूरा भएपछि नागरिकता प्राप्त गरेको देखिन्छ । उनले प्रहरी सेवामा प्रवेश गर्दा पेस गरेको नागरिकतामा जारी मिति २२ जेठ, २०४२ रहेको उल्लेख छ । तर, १८ वर्षमा प्रहरी सेवा प्रवेश गरेको देखाउन त्यतिबेला सिंहले आफ्नो जन्म मिति १६ पुस, २०२५ टिपाएका थिए । नागरिकताअनुसार सिंहले एसएसपी पदमा नै अवकाश पाउने देखिन्छ ।
तर, उनले टिपाएको जन्ममितिको आधारमा डीआईजीमा बढुवा भएको देखिन्छ । डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवर, दोस्रो नम्बरका टेकप्रसाद राई, तेस्रो नम्बरका सिंह र चौथो नम्बरका दीपक थापा आईजीपी पदका दाबेदार रहेको छन् । आईजिपी धिरजप्रताप सिंहको कार्यकाल आगामी चैतमा सकिँदै छ । अख्तियारमा गत बुधवार परेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको दावी गरिएको छ ।