राष्ट्रपतिबाट आम माफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा
- February 19, 2023
- 3 years ago
काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी उनलाई प्रहरीले पक्राउ गरेको थियो। १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।
उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला बमोजिम सजाय नभोगी उनी कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
कैलालीको तत्कालिन बलिया गाबिसका महादेव बजगाईले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै चौधरीसहितका विरुद्ध किटानी जाहेरी दिएका थिए । यही मुद्दामा पर्शुराम चौधरी र बीरबहादुर चौधरीलाई पनि अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवाना गरेको थियो ।