उच्च अदालतमा २७ न्यायाधीशका लागि २ सय ७७ को आवेदन
- August 12, 2022
- 4 years ago
न्याय परिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको लागि आवेदन मागेकोमा २ सय ७७ जनाको आवेदन परेकोछ । न्याय परिषद्ले साउन १० गते निर्णय गरी उच्च अदालमा २७ जना न्यायाधीशका लागि १० दिनको समय दिएर इच्छा जाहेर गर्ने आवेदन खुल्ला गरेको थियो । आवेदन दिनेमा सबै भन्दा बढी कानुन व्यवसायी छन् ।
२ सय ७७ जना आवेदक मध्ये १ सय ६१ जना कानून व्यवसायी छन् । जिल्ला न्यायाधीशबाट ७५ जना र न्याय समूहका कर्मचारीबाट १३ जना तथा सरकारी वकिल समूहबाट ९ जना, कानुन समूहका कर्मचारीबाट ८ र अन्यबाट ११ जना छन् । आवेदन दिनेमा १९ जना महिला रहेका छन् । आवेदकमध्ये ८१ जनाको नामावली सर्टलिष्ट गरी न्यायपरिषदले सार्वजनिक गर्ने न्यायपरिषद्ले जनाएको छ ।
संविधानको धारा १४० मा न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीश नियुक्तिको ब्यवस्था गरेकोको छ । १४० को (२)मा उच्च अदालतको न्यायाधीश हुनको लागि जिल्ला न्यायाधीशका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको, वरिष्ठ अधिवक्ता वा अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको, कानुनको अध्यापन अनुसन्धानमा कम्तीमा १० वर्ष काम गरेको वा न्याय सेवामा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतमा न्यायाधीश नियुक्त हुन सक्ने व्यवस्था छ ।